काठमाडौँ । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली काठमाडौं ल्याइँदैछ। आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताए। बाजागाजासहितको र्याली निकालेर गोरखा दरबारबाट फूलपाती काठमाडौं पठाइएको हो।
फूलपाती काठमाडौँको हनुमान ढोका दरबारमा ल्याएपछि बिहिबार साँझ हर्कबढाइँका साथ हनुमान ढोका दरबारमा भित्र्याउने चलन छ। गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहेको उनले बताए । (रासस)