काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् ।
बुधवार साँझ काठमाडौंको बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पैसाले उद्यमशिलता, नयाँ सोच तयार गर्न सक्नुपर्ने बताए । उनले नयाँ ठाउँमा लगानी गर्नसके मात्रै पैसाको सही सदुपयोग हुने बताए । उनले पैसा हुनेले गतिलो काम गर्छन् भन्न नसकिने बताए । उनले पैसा कम भए पनि गतिलो काम गर्न सकिने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले होलिडे इन रिसोर्ट धेरै नै सुन्दर ठाउँमा बनेको बताए । उनले यसको प्रचारप्रसार गर्नसके पर्यटकहरु धेरै बढ्ने बताए । उनले होटल होलिडे इन रिसोर्टबाट काठमाडौंका सबै ठाउँ देखिने र रातिको दृश्यावलोकन सुन्दर देखिने भएकाले आकर्षक रहेको बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विविधतापूर्ण प्रकृति र संस्कृतिलाई दुनियाँभर फिँजाउन आवश्यक रहेको बताए । उनले देशभित्र आन्तरिक पर्यटक बढाउन, देश बाहिरका पर्यटक भित्र्याउन, एक पटक पनि नआएका मानिसहरुलाई एक पटक जाउँ भन्नका लागि र एक पटक आइसकेकोलाई पटक पटक नेपाल जाउँ भन्नका लागि अतिथि देवो भवअनुसारको संस्कारअनुसारको व्यवहार देखाउनुपर्ने बताए ।