चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षातका कारण रोकिएको जिप सफारी बिहीबार फूलपातीका दिनदेखि सुरु गरिने भएको छ।
हरेक वर्षझैँ यस वर्ष पनि असार १६ गतेदेखि निकुञ्जभित्रको सफारी रोकिएको थियो। लामो समय वर्षात भएका कारण निकुञ्जभित्रको सडक र पुल मर्मत एवं झाडी सफा गर्ने काम गर्न कठिन भएपछि केही ढिला गरी निकुञ्ज खोलिएको हो। गत वर्ष असोज १६ गतेदेखि जिप सफारी खुला गरिएको थियो। निकुञ्जबाहिरका सामुदायिक वनमा भने वर्षातमा समेत पर्यटकीय गतिविधि हुने गर्छ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चाडपर्वमा घुम्न आउने पर्यटकलाई लक्षित गरी सबै सडक सफा गर्न नसकिए पनि सफारी खुला गरिएको हो। निकुञ्जभित्र सबैभन्दा बढी सौराहाबाट ३२ जिप चल्ने गर्दछन्। कसराबाट २०, मेघौलीबाट नौ, माडीबाट एउटा, नवलपरासीको अमलटारीबाट ६ तथा कुजौलीबाट दुईवटा जिपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्छन्।
निकुञ्ज क्षेत्रको मुख्य पर्यटकीय गतिविधि जिप सफारी हो। अन्य गतिविधि डुंगा सफारी, चरा हेर्ने (बर्ड वाचिङ) लगायतका गतिविधि भने सबै समय खुला हुने गर्दछ। सफारीका लागि नेपालको महत्त्वपूर्ण गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज हो। (रासस)