काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ।
दशैं अगाडि सेयर बजार खुल्ने दिन अब एक दिन मात्र बाँकी छ। त्यसको अघिललो दिन मंगलबार सेयर बजारमा गिरावट आएको हो।
यो साता आइतबार र सोमबार लगातार दुई दिन बढेको बजार परिसूचक नेप्से मंगलबार भने २७.३९ अंक (१.०१ प्रतिशत) ले गिरावट भएर २६६३.३२ को बिन्दुमा बन्द भएको छ।
बजार परिसूचक सँगै कारोबार रकममा पनि गिरावट भएको छ। सोमबार ७ अर्बको कारोबार भएको बजारमा मंगलबार कारोबार घटेर साढे ४ अर्बमा झरेको छ। ४५ हजार ८७० वटा कारोबारमा १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजारको कारोबार भएको छ।
मंगलबार म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ। वित्त कम्पनी उपसूचक सर्वाधिक २.७६ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.९३ प्रतिशतले गिरावट भएको छ। यस्तै बैंकिङ उपसूचक ०.३६ प्रतिशतले गिरावट भएको छ ।
मंगलबार नेप्सेमा साढे ४ अर्ब माथिको कारोबार हुँदा एनएलजी इन्स्योरेन्सको २७ करोड १८ लाखको कारोबार भएको छ। त्यस्तै नेपाल फाइनान्सको २३ करोड ९७ लाखको सेयर किनबेच हुँदा हिमालयन रि–इन्स्योरेन्सको १३ करोड ७७ लाखको कारोबार भएको छ।
मंगलबार नेप्सेमा कुल २४४ सूचीकृत धितोपत्रको किनबेच हुँदा २०७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ।
यस्तै ३५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ। मंगलबार कारोबार भएकामध्ये मिड सोलु हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ। त्यस्तै बुटवल पावर कम्पनीको ६.८३ प्रतिशत, मान्डु हाइड्रोपावरको ६.३१ प्रतिशतले सेयर मूल्य बढेको हो । (रासस)