सिन्धुली । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन संघीय सरकारका तीन मन्त्री यहाँ आइपुगेका छन् । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली मंगलबार बिहान खुर्कोट आइपुगेको हो ।
उनीहरूले सुनकोसी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे । रामेछापतर्फको ५१ मिटर बगेको बेलिब्रिजमा यातायात सञ्चालनका निम्ति नेपाली सेनाले प्रारम्भिक काम थालिसकेको छ । उनीहरूले उक्त कामको निरीक्षण समेत गरे ।
उनीहरूले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधारको पुनर्निर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेसहित स्थानीयवासीसँग छलफल जारी राखेका छन् । मन्त्रीहरू सिन्धुपाल्चोकको चौतारा पनि जाने कार्यक्रम रहेको जनाइएको छ । (रासस)