काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका ‘सम्मानित नेता’ झलनाथ खनालले उपमहासचिव मेटमणि चौधरीलाई पार्टीबाट निष्कासन गर्न नेतृत्वपंक्तिसँग जोडदार माग गरेका छन् ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका चौधरीले गत भदौ २५ गते प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी’मा भारतले गरेको दाबी पुग्ने र यी भूमि उसैको भएको अभिव्यक्ति दिएपछि विवादमा परेका चौधरीलाई पार्टीले समेत स्पष्टिकरण सोधेको थियो ।
पार्टीले उनलाई कारवाही नगरी आगामी दिनमा यस्तो अभिव्यक्ति नदिन सचेत मात्र गराउने तयारी गरिरहेका बेला पुर्वप्रधानमन्त्री समेत रहेका खनालले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको हो भन्ने अभिव्यक्ति कुनै हालतमा क्षम्य नहुने चेतावनी दिएका छन् ।
‘सम्मानित नेता’ खनालले एक वक्तव्य नै प्रकाशित गरेर आफूले चौधरीले दिएको अन्तर्वार्ता सुनेको र उनको अभिव्यक्ति राष्ट्रियताविरोधी, देशद्रोही, मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज भएको बताउँदै एउटा देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो लज्जा र घृणाको विषय बताएका छन् । कुनै नेताबाट मात्र होइन, सामान्य कार्यकर्ता साधारण सदस्य तथा समर्थक र शुभेच्छुकहरूबाट पनि त्यस्ता अभिव्यक्ति आउनु असम्भव रहेको बताउँदै खनालले आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न नसकिने बताएका छन् ।
नेता खनालले आफ्नै पार्टीको “उपमहासचिव” र वहालवाला “सांसद”बाट यस्ता अभिव्यक्ति आउनु गम्भीरभन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको बताउँदै “उपमहासचिव”को अभिव्यक्तिबाट गौरवमय पार्टी पंक्ति र आम देशभक्त नेपाली जनतामा पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठेको बताएका छन् ।
आम कार्यकर्ता, समर्थक र शुभेच्छकहरूमा समेत तीखो आक्रोश र विरोधको भावना उत्पन्न भएको वताउँदै खनालले भनेका छन् “यस्तो अवस्थामा अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्त्वहरूबाट हाम्रोजस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रूपमा स्थापित गर्न म पार्टी नेतृत्वपंक्तिसमक्ष जोडदार माग गर्दछु ।”