काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले गत भदौ १२ गते प्रयोग गरेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म संसद अवरोध जारी राख्ने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ ।
आजै सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए । उक्त छलफलमा भएका विषयहरू प्रमुख सचेतक हितराज पाण्डेले पार्टीमा जानकारी गराएका थिए ।
एमाले सांसद भट्टराईले संसदमा बोल्ने क्रममा हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि माओवादीले आपत्ति जनाएको थियो । उक्त शब्दले जनयुद्धकै अपमान गरेको माओवादीको दावी छ ।
सभामुख देवराज घिमिरेले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा हिंसा शब्द असंसदीय नभएको जानकारी गराएका थिए ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रुलिङ हरेक सांसदले मान्नुपर्ने बताएका छन् ।
सभामुखको रुलिङ मान्नु हरेक सांसद कर्तव्य हुने बताउँदै बर्तौलाले नियमापत्तिउपर निर्णय गर्ने अधिकार सभामुखको रहेको बताएका छन् । बर्तौलाले भनेका छन्, ‘यो विषयमा अडान लिँदै जाने हो भने माओवादीलाई क्षति हुन्छ । हाउसको सुव्यवस्था कायम गर्ने को हो त । नियमावली हामीले नै बनाएको हो । यसले संसदीय प्रणाली सुदृढ हुँदैन ।’