काठमाडौं । सत्ता गठवन्धनले उपसभुखबाट इन्दिरा रानालाई वहुमतको बलमा पदबाट हटाउन खोजेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोलेका रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउने विषयमा राजनीतिक दलहरूले छलफल गर्नु बेठीक भएको बताउँदै वहुमतको दम्भ नदेखाउन चेतावनी दिएका छन् ।
उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरामा राजनीतिक पार्टीहरु बसेर छलफल गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य नहुने भन्दै परियारले भने “आज सम्मानित पदलाई परिषदलाई आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका र आफूलाई लोकतन्त्रको मसिहा भन्ने पार्टीहरु गुपचुप सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने जुन कर्म गर्ने तयारी गर्दै हुनुहुन्छ । स्मरण रहोस्– राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पद गुमाउला तर लोकतन्त्रका लागि सधैं लड्नेछ, जनताको पक्षमा लड्नेछ ।”
सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा उपसभामुखले पद अनुकुलको आचरण नगरेको भनेर प्रश्न उठेको नेताहरुले बताएका थिए ।
उपसभामुख इन्दिरा रानाले आफ्नो पदीय मर्यादा बिर्सेर अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र केही महिनाअघि सार्वजनिक भएको थियो । पत्रमा उनले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन आग्रह गरेकी छन् । तर ती युवाहरु भने अमेरिका जान पाएका थिएनन् ।
राज्य व्यवस्था समितिमा समेत यो विषयमा उजुरी रहेको उल्लेख गर्दै सत्तारुढ दलहरूले हटाउने तयारी गरेको छ । यस सम्बन्धमा रास्वपाले आपत्ति जनाएको हो ।