सुर्खेत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशलाई श्रीलङ्का र बङ्गलादेशको बाटोमा डोर्याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन ।
‘माओवादी अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको असंसदीय राजनीतिका कारण सांसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन,’ उनले भने, ‘त्यो लोकतान्त्रिक हुन सक्दैन ।’
आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको बताएका उनले राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने प्रतिक्रिया दिएका छन् । तर कांग्रेस एमालेले दुई दलीय व्यवस्थाको वकालत नगरेको उनले स्पष्ट पारेका छन् ।
‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौँ वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरू दल खोल्न नपाइने हो र रु तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ’ महासचिव पोखरेलले थपे, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो । ’
अर्को फरक प्रसङ्गमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको बताए । उनहरूले बाहिर आएर भनेको सुनेका छौँ र रु कथा बनाइयो । कांग्रेसको औपचारिक निर्णय–यो समीकरण कांग्रेसको मेहनतको परिणाम भन्ने छ । महामन्त्रीको सहमति विपरीत पार्टीको त्यो निर्णय भएको होला ? पत्रकारले सोधेको प्रश्नमा पोखरेलले प्रतिप्रश्न गरेका छन् ।
०८४ मा एमाले बलियो शक्ति भएर आउने दावी
महासचिव पोखरेलले २०८४ मा एमालेलाई देशकै बलियो र राष्ट्रिय शक्ति स्थापित भएर छोड्ने ठोकुवा गरेका छन् ।
लोकतन्त्रलाई सुदृढ गर्न आवश्यक भएको बताउँदै महासचिव पोखरेलले त्यसका लागि बलियो शक्ति आवश्यक भएकाले ०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने बताएका छन् ।
युवाहरूमा निकै निराशावाद पलाएको र ती युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था नरहेको उल्लेख गरेका छन् । तर त्यसका लागि सबै तहका सरकारले काम गर्नुपर्ने र निराशालाई चिर्न राज्य तयार हुनुपर्नेमा पोखरेलले जोड दिएका छन् ।
एमाले–कांग्रेसको सरकार बनेपछि राजश्व वृद्ध हुन थालेको दाबी गर्दै उनले नेपालको मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने काम भइरहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँका मेयर बालेन साहबीच भएको टकराबलाई लिएर पोखरेलले बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न आवश्यक नभएको बताएका छन् ।
बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको उनको भनाइ थियो ।
नेकपा (एमाले) कर्णाली प्रदेशको सचिवालय बैठकलाई संवोधन गर्न सुर्खेत पुगेका महासचिव पोखरेल आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजँग शाहले जानकारी दिएका छन् ।