काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। आज काठमाडौंमा आयोजित ‘विकासका लागि वित्तसम्बन्धी संवाद’ कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपालले स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रयत्नरत रहेको बताएका हुन्।
‘निजी क्षेत्र सरकारको साझेदार हो। हाम्रा लक्ष्य अलग छैनन्। सरकार निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न आवश्यक वातावरण बनाउन प्रतिबद्ध छ’, अर्थमन्त्री पौडेलले भने, ‘निजी पुँजी आकर्षित गर्ने गरी विकास वित्तको खाका निर्माण तथा प्रतिफलयुक्त आयोजनाको सूची तयार गरी लगानी जुटाउनु आवश्यक छ।’
उनले सरकारी र निजी लगानी बढाउन सकेमा स्वदेशमा नै कामका अवसर बढाउन सकिने विश्वास व्यक्त गरे। आन्तरिक मात्र नभई वैदेशिक लगानी भित्र्याउनका लागि पनि सरकारले सहजीकरण गर्ने पौडेलको भनाइ छ। एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले ‘नेपालको विकास प्रयासमा स्वदेशी पुँजी र प्रविधि मात्र पर्याप्त पर्याप्त छैन। सरकार विदेशी पुँजी र प्रविधि भित्र्याउन सबै नीतिगत र कानुनी पूर्वाधार निर्माण गर्न कटिबद्ध छ।’ पौडेलले कानुनी सुधार र नीतिगत स्पष्टताका लागि थप कामहरु गर्दै लगिने बताए।