दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेपछि लोकतन्त्रलाई बलियो बनाउन एमाले र कांग्रेस मिल्नुपरेको दाबी गरेका छन् ।
प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा भएको बताए ।
अस्थिर राजनीतिको अन्त्य गर्न अगामी चुनाव अघि नै संविधान संशोधन गर्न आवश्यक रहेकाले कांग्रेसको साथ खोजिएको महासचिव पोखरेलले बताएका छन् ।
महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताएका छन् ।
सरकार बनाउँदा साना दलले ठूलो भाग खोज्दै बार्गेनिङ गर्ने गरेका कारण सरकार अस्थिर हुने गरेको बताउँदै पोखरेलले त्यसको अन्त्य आवश्यक रहेको बताएका छन् ।
























