काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने स्पष्ट पारेका छन् । हिजोजस्तो घेराबन्दीमा नभएकाले भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी काम गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।
मंगलबार बालुवाटारस्थित सरकारी निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको सन्दर्भमा, भ्रष्टाचार नियन्त्रण र उन्मुलनको सन्दर्भमा, विकासको कामलाई अगाडि बढाउने सन्दर्भमा र जनतालाई अप्ठ्यारो परेको बेला कठिनाइमा भएका जनतालाई हेर्ने कुरामा कुनै पनि कमीकमजोरी हुन नदिइ काम गर्ने विश्वास दिलाएका छन् ।
प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भिरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको वताउँदै सरकार परिवर्तनले जनतामा एउटा नयाँ आशा, भरोसा जगाएको बताएका छन् ।
सुशासन, विकास र जनताले पाउनुपर्ने सेवा, सुविधा सहज ढंगले पाओस् भनेर सरकारले पहिलो क्याबिनेटबाट नै आफ्नो कामलाई अघि बढाएको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन् ‘प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्वीकार्नुको अर्थ यत्तिकै प्रधानमन्त्री हुुनका लागि होइन। प्रधानमन्त्री त पहिले नै भइसकेको थिएँ। र मैले आफ्नो समयमा प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषदलाई ठिक ढंगले नेतृत्व गर्ने र त्यसलाई देशको विकासका निम्ति, सुशासनका निम्ति र आम जनताका निम्ति अलपत्र बालबालिकाका निम्ति होस्, अपांगता भएका व्यक्तिहरूका निम्ति होस् अथवा बेसहारा ज्येष्ठ नागरिकका निम्ति होस् ।’
प्रधानमन्त्री ओलीले विगतमा पनि आफ्नो नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गरेको स्मरण गराउँदै अहिले त्यो भन्दा पनि बढी जनताको पक्षमा तिब्रताका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् ।