काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार नियुक्त गर्ने भएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर सोही दिन साँझ नै सपथ गराइने कार्यक्रम रहेको छ ।
शुक्रबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।
ओलीलाई नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थन रहेको छ ।
प्रतिनिधिसभामा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझसम्मको समयसीमा दिएर नयाँ सरकार गठनको आव्हान गरेका थिए ।
नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते नयाँ समीकरणमा सहमति बनेसँगै प्रचण्डले संविधानको धारा १०० को उपधारा–२ अनुसार विश्वासको मत लिने निर्णय गरेका थिए ।
प्रधानमन्त्री बनेको १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिँदा प्रचण्ड संसद्मा आफ्नो पक्षमा बहुमत जुटाउन असफल भएपछि खुमलटार सरेका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले शपथ लिएकै दिन अधिकांश मन्त्रीले शपथ लिने भएका छन् । उनका अनुसार सकेसम्म २ चरणमा मात्रै मन्त्रिपरिषद् विस्तारको योजना रहेको छ ।
नेताहरूका अनुसार अर्थमा एमाले उपाध्यक्ष विष्णु पौडेल र गृहमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले शथप लिने सम्भावना रहेको छ ।




















