काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचौँ पटक प्रतिनिधिसभाबाट विश्वासको मत मागे । चार पटकसम्म विश्वासको मत पाएका प्रधानमन्त्री दाहालले पाँचौ पटक विश्वासको मत नपाएपछि पदबाट मुक्त स्वतः मुक्त भएका छन् ।
आज संसदमा २५८ उपस्थित सांसद उपस्थिति थियो । जसमध्ये प्रधानमन्त्री दाहालले राखेको विश्वासको प्रस्तावका पक्षमा ६३ मत मात्र परेको छ भने उनको विपक्षमा १९४ मत परेको छ । १ सांसदले कसैलाई पनि मत दिएनन् । विश्वासको मत पाउन कम्तिमा १३८ मत चाहिन्थ्यो । वहुमतका लागि आवश्यक मत नआएपछि सभामुखले प्रधानमन्त्री दाहालले राखेको प्रस्ताव वहुमतबाट अस्वीकृत भएको घोषणा गरेका छन् ।
पहिलो पटक झण्डै शतप्रतिशत अर्थात २०७९ पुस २६ गते २६८ मत पाएका प्रधानमन्त्री दाहालले दोस्रो पटक २०७९ चैत ५ मा १७२ मत पाएका थिए ।
त्यस्तै तेस्रो पटक २०८० फागुन ३० गते १५७ मत पाएका थिए भने चौथो पटक २०८१ जेठ ७ गते १५७ मत पाएका थिए । पाँचौँ पटक २०८१ असार २८ गते आज ६३ मत मात्र पाएपछि प्रधानमन्त्रीबाट हट्नु परेको छ ।
अब संसदका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा अन्य साना पार्टीहरु समेत सम्मिलित सरकार बन्दैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा दुई तिहाई सांसदको समर्थनको सरकार बनाउने प्रक्रिया आझैबाट शुरु हुने छ ।
नयाँ सरकार संविधानको कुन धारा अनुसार बनाउने भनेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँग छलफल शुरु गरेका छन् । कांग्रेस–एमाले गठवन्धनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नै सरकार बन्ने बताएका छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको पार्टीलगायतका अहिले सत्तामा बाँकी रहेकाहरुले धारा ७६ को उपधारा ३ वमोजिम बन्नु पर्ने र २ अनुसार बने असंवैधानिक हुने तर्क गरेका छन् ।
कुन धारा अनुसार बन्ने भन्ने विवाद रहेकाले राष्ट्रपतिले संविधानविद्हरुसँग छलफल गरिरहेको बताइएको छ । तर अधिकांस संविधानविद्ले पनि धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बन्न सक्ने तर्क गरेका छन् ।
संविधानको धारा ७६ को उपधारा ३ वमोजिम सरकार बन्न आवहान भएमा संसदको ठूलो दलको संसदीय दलको नेताका नाताले शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन । तर संविधानविद्हरुको तर्क र कांग्रेस- एमालेको सहमति अनुसार ओलीकै नेतृत्वमा सरकार बन्ने लगभग निश्चित छ ।




















