काठमाडौँ । बिहीबार नेप्से परिसूचक २९.२१ अंक बढेर २२०४.६१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०७ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३१ स्टकको ८७ हजार ८६ पटकको कारोबारमा ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिनको कारोबार रकम ६ महिना यताकै उच्च हो। यस अघि गत पुस २६ गते नेप्सेमा ७ अर्बभन्दा बढीको कारोबार भएको थियो।
यस दिन बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३८ रुपैयाँ ३० पैसा बढेर ४२१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सिटिजन्स युपर ३० म्युचुअल फण्ड र एनआईबिएल स्टेबल फण्डको इकाईमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको समाज लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ४.५९ प्रतिशत घटेको छ ।