काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलगत स्वार्थका लागि बार्गेनिङ गर्ने र अस्थिरता मच्चाउने प्रवृत्ति बढेको टिप्पणी गरेका छन्।
बुधबार पार्टी सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, जनताका आवश्यकता, कामलाई केन्द्र भागमा नराख्ने, यसरी विभिन्न ढंगले भ्रष्टाचार, अस्थिरतामा जाने काम भएपछि विकल्प खोज्नु परेको बताएका छन् ।
संघीयतालाई सफल बनाउनुपर्ने आवश्यकता भएको भन्दै ओलीले खाली संविधानप्रति ओठे भक्ति देखाएर मात्रै नपुग्ने बताएका छन् ।
प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसकातिर, कहिले उसकातिर जाने, यस्ता खालका अस्थिरता, ‘बार्गेनिङ’, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर भएको आरोप लगाउँदै ओलीले संघीयतालाई सफल बनाउने दिशामा जानुपर्ने बताएका छन् ।
त्यस्तै उनले संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य हुन नसक्ने पनि बताएका छन् ।
अध्यक्ष ओलीले कांग्रेस–एमालेबीच संविधानका कुन–कुन विषयमा संशोधन गर्ने भन्ने विषय नटुंगिएको स्पष्ट पारेका छन् ।
‘अनुभवहरुले के कस्ता परिवर्तन, परिमार्जन र सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो,’ ओलीले बताएका छन् कसैको नेतृत्वमा आयोग नबनेको भन्दै उनले राष्ट्रियहितहरूको रक्षा गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ, त्यो संशोधन गर्ने सहमति भएको बताएका छन् ।
ओलीले कांग्रेस र एमाले मिल्दा देश अराजकतातिर जाने भनेर भ्रम फैलाइएको बताएका छन् ।