काठमाडौँ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार परिवर्न गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति कांग्रेस र एमालेबीच भएको छ ।
कांग्रेस र एमालेका नेताहरुबीच सोमवार राति भएको सहमति अनुसार संविधान संशोधन गरेर जनताका गुनासा र विभिन्न अल्झनहरुलाई सुल्झाइने तयारी छ । हालसम्मका अनुभाव र आवश्यकताहरुलाई सम्वोधन गर्दै शासकीय स्वरुप, परराष्ट्र नीति, निर्वाचन प्रणालीलगायतको संशोधन गरेर अघि बढ्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा सुझाव समिति बनाउने सहमति पनि कांग्रेस एमालेले गरेका छन् ।
नयाँ घटनाक्रम पछि दलहरु आन्तरिक वैठकमा छन् । नेपाली कांग्रेसले विहानै पदाधिकारी वैठक गरेको छ भने नेकपा एमालेकोे सचिवालय वैठक दिउँसो ३ बजे बस्दैछ, रास्वपाको वैठक सिंहदरवारमा जारी छ ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकठमा बसेको नेपाली कांग्रेसको पदाधिकारी वैठकले एमालेसँग सहकार्य गरेर सरकारमा जानुपर्छ भन्ने मान्यताभन्दा माथि बसेर निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।
वैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. महतले भनेका छन् “खालि सत्तामा जानका लागि मात्रै यो समझदारी गरेका होइनौँ । महत्त्वपूर्ण मुद्दालाई आम जनताको चासोको विषयलाई केन्द्रमा राखेर एमालेसँग समझदारी भएको छ ।’
राष्ट्रिय सरकार बनाउने प्रयास भएको भन्दै उनले अन्य दललाई पनि कुराकानी गरेर ल्याउने तयारी भइरहेको बताएका छन् ।
प्रवक्ता महतले दुई तिहाई पुर्याउने मात्रै नभई समग्रमा राष्ट्रिय सहमतिको सरकार बनाउनेतिर लाग्ने बताएका छन् ।
दुई दल एक ठाउँमा नआएसम्म अस्थिरतामा देश गुज्रिएको वताउँदै उनले लोकतन्त्र नै अप्ठेरोमा परेको अवस्थामा यस्तो निर्णय भएको दावी गरेका छन् ।
त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने गरी नेपाली कांग्रेससँग समझदारी भएको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले लेखेका छन्, ‘राजनीतिक स्थाईत्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माण गर्नेगरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा ९एमाले० र नेपाली कांग्रेसका बीचमा समझदारी ।’
उनले राष्ट्रिय सरकारमा अन्य सहमत दलहरूलाई पनि समावेश गरिने स्पष्ट पारेका छन् ।
सोमबार मध्यराती काङ्ग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएको थियो । काङ्ग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गएका छन् ।
आज एमालेले आफ्ना मन्त्रीहरुलाई राजीनामा गराउने र समर्थन फिर्ता लिने तयारी गरेको छ । प्रचण्डलाई मार्गप्रशस्त गर्दिन आग्रह गर्न अध्यक्ष ओली वालुवाटार पुगेका छन् ।