काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बन्ने भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको स्रोतले पुष्टि गरेको छ ।
दुई दलका दोस्रो तहका नेताहरु एक होटलमा बसेर लिखित सहमतिको मस्यौदा तयार गरिरहेको बुझिएको छ ।
दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको बुझिएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने तयारी छ ।
त्यस्तै, दुई दलबीच प्रदेश सरकारको नेतृत्वको बारेमा पनि भागवण्डा भएको बुझिएको छ । स्रोतका अनुसार एमालेले कोसी, लुम्बिनी रकर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेशसरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको छ ।
संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको खाका तयार गरेका छन्, जसमा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउनेसांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी छ ।
प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको छ । पालिकाकोसंख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन प्रस्तावमा सहमति गर्ने सम्भावना छ ।
प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने विकल्पबारे उनीहरुबीच छलफल भएको छ ।
दुई दलबीच संविधान संशोधनका लागि सुझाव पूर्वपधानन्यायाधीशको नेतृत्वमा एक समिति बनाउने सहमति पनि भएको स्रोतले बताएको छ ।




















