काठमाडौं । बचतकर्ताको अर्बौँ रूपैयाँ अपचलन गरेको आरोपमा ललितपुरको लालिगुराँस सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ पछि अध्यक्ष र कोषाध्यक्ष पनि पक्राउ परेका छन् ।
शुक्रबार प्रमुख कार्यकारी अधिकृत भण्डारी पक्राउ परेका थिए भने अध्यक्ष अमरदास श्रेष्ठ र कोषाध्यक्ष अमृतकुमार अर्याललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
बचतकर्ताले सहकारीले पैसा फिर्ता नगरेपछि गत चैत १ गते उजुरी दर्ता गराएका थिए । सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार सहकारीको सञ्चालक समिति र लेखा समितिका ९ जनालाई पक्राउ गर्न ललितपुर अदालतले अनुमति दिएपछि अहिले चारजनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै ललितपुरको पुल्चोकमा रहेको उक्त सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा अध्यक्ष श्रेष्ठ, सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेका ७६ वर्षीय अध्यक्ष श्रेष्ठ ७ वर्षदेखि लालिगुराँसको अध्यक्ष रहेका छन् । ३१ वर्ष नेपाल बैंक लिमिटेडमा काम गरेका श्रेष्ठ २०६१ सालमा लालिगुरासँमा सचिव नियुक्त भएका थिए ।
२०५६ सालमा म्यानेजरको जागिरबाट लालिगुराँसमा प्रवेश गरेका ४६ वर्षीय भण्डारी हाल सीईओ र सचिव दुवै पदमा थिए ।