काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई संयमता गुमाएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिदै नेताहरु जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाएका छन् ।
उनले नेताहरुलाई गाली गलौच गरेर आफ्नो सीमा ननाघ्न आग्रह गर्दै यो समाजलाई कता लादै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
नेता भट्टराईले एमाले सबै प्रकरणमा छानबिन गर्न तयार रहेको बताउदै आफुहरु आफ्ना नेतालाई छुट दिनुपर्छ भन्ने पक्षमा नरहेको बताएका थिए ।
मंगलबार प्रतिनिधि सभामा विशेष समयमा लिएर बोल्दै भट्टराईले गिरिबन्धुबारे भएका काम कानुनअनुसार भएको र कानुन बनाउँदा कांग्रेसको तर्फबाट कुनै संशोधन प्रस्ताव नभएको बताएका छन् ।
कांग्रेसले आफूतिर लागेका आरोप पन्छाउन अर्कोमाथि आरोप लगाउने काम गरेको भट्टराईको टिप्पणी छ ।
‘काक्रा आफूले खाएर बियाँ अर्काको गालामा टाँसिदिने काम नेपाली कांग्रेसले गरेको भन्दै एमाले सचिव भट्टराईले कांग्रेसको अनुहारमा लागेको कालो ऐन पुछेर वा फुटाएर नहट्ने चेतावनी दिए ।
सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम गिरिवन्धु टि स्टेटसम्वन्धी संसदले कानुन बनाएको बताउँदै भट्टराईले त्यो कानुन बनाउँदा कुनै पनि राजनीतिक दलको विमति नभएको स्मरण गराएका छन् । उनले नेपाली कांग्रेसको पनि त्यसमा कुनै संशोधन प्रस्ताव नल्याएको बताउँदै सबैले मिलेर त्यो कानुन बनाएको दावी गरेका छन् ।
उक्त कानुन कार्यान्वयन गर्ने क्रममा के कमिकमजोरी भएको भनेर अदालतले औंल्याएको र त्यसलाई एमालेले सम्मान गर्ने उनले बताएका छन् ।
कांग्रेसले आफूमाथि लागेका आरोपहरु पन्छाउन गिरिबन्धुको विषय उठाइएको टिप्पणी गर्दै भट्टराले भने – “अहिले यो विषय उठाएर हाम्रो पार्टीमाथि, हाम्रो अध्यक्षमाथि जसरी नियोजित ढंगले हस्ताक्षेप गर्ने, प्रचार गर्ने, आरोप लगाउने जुन खालका षडयन्त्रहरु भएका छन्, हामी सदन समक्ष भन्न चाहन्छौं–२०४६ साल पछाडिका वा अगाडि कुन कुन बेलाको छानबिन गर्नुपर्ने हो एमाले प्रत्येक छानबिनका लागि तयार छ । ऐनसेलको गर्ने हो कि, टेरामक्सको गर्ने होकि, बाँसबारीको गर्ने हो कि, कोहलपुरको गर्ने हो कि, बालमन्दिरको गर्ने हो कि, वालुवाटारको गर्ने हो ?”
भट्टराईले कांग्रेसले जस्तो अख्तियारमा भ्रष्टचारीको आरोपमा बयान दिन जानु परेका र पार्टीको केन्द्रीय समितिमा दायाँ र बायाँ दाग लागेका मान्छेलाई राखेर बैठक गर्नुपर्ने बाध्यता एमालेलाई नभएको बताएका छन् ।




















