काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले १७औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
अधिकारसँगै कर्तव्य पनि भुल्न नहुने उल्लेख गर्दै ओलीले शुभकामना सन्देशमा भनेका छन् “आज गणतन्त्र दिवस। एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैंले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिन। गणतन्त्र दिवसको सबैलाई शुभकामना !
आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ। कहिलेकाहीं हामी गलतलाई चुन्न सक्छौं, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन। गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ । जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैं गलत छ। हामीले अधिकार पाएका छौं, सँगसँगै कर्तव्य पनि नभुलौं ।
सबैलाई शुभकामना !
जय गणतन्त्र !!
जय जय जय नेपाल !!!”




















