काठमाडौं । सामाजिक विकास इकाई कार्यालय राजविराज, सप्तरीका सव–इन्जिनियर अजय रजकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्न सेवाग्राहीसँग घुस लिँदालिँदै उनी पक्राउ परेका थिए । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अजयकुमार साफी भन्ने अजय रजक घुसबापतको १५ हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेकसहित पक्राउ परेका थिए ।
आयोगको टोली देखेपछि उनी घुसबापत लिएको रकम र चेक छोडेर भागेका थिए । तर आयोगको टोलीले उनलाई तत्कालै पक्राउ गरेको थियो ।
सोही आरोपमा पक्राउ परेका रजकविरुद्ध शुक्रवार अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध ७० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गरिएको आयोगले जनाएको छ ।