काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद कुमार चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वयान लिएको छ ।बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका चौधरीसँग सरकारी वकिल कार्यालयका अधिकारी र प्रहरीको संयुक्त रोहबरमा बिहीबार बिहानै बयान लिइएको हो ।
बयान दिएपछि पत्रकारहरुसँग उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् । उनले राजनीतिक स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने टिप्पणी गरेका छन् ।
बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको दावी गर्दै चौधरीले उद्यम, उद्यमी, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गरिएको आरोप लगाएका छन् ।
आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको बताउँदै उनले भनेका छन्, ‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरीका र विश्वभरीका युवाहरुले, नेपालका रोजगारदाताहरुले, करदाताहरुले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । मैले मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन ।’
आफू नवलपरासी पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद भएको र आफ्नो भूमिका त्यही रुपमा अगाडि बढाएको वताउँदै चौधरीले “४२ वर्षअगाडि बाँसवारीजस्तो अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक–प्राइभेट पार्टनरसीपको उत्कृष्ट स्वरुपका रुपमा खडा गरिएको नविनतम सोचलाई राजनीतिकरण गरियो, यो अत्यन्त दुखलाग्दो छ ।”