काठमाडौँ । आइतबार नेप्से २२.१० अंकले बढेर २०५२.६५ विन्दुमा पुगेको छ भने कारोबार रकम पनि ३ अर्ब नजिक पुगेको छ।
२ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँ बराबरको ७० लाख ४३ हजार ४५७ कित्ता शेयर कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये हाइड्रोपावर बाहेक अन्य १२ वटा उपसमूहको सूचक बढेको छ । जसमा लघुवित्त उपसमूहको सूचक ४.२१ प्रतिशतले बढेको छ भने लाइफ इन्स्योरेन्स, ननलाइफ इन्स्योरेन्स, लगानी, होटल, विकास बैंक, फाइनान्स र म्युचुअल फण्ड उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ। पछिल्लो समय ट्रण्डिङमा रहेको हाइड्रोपावर समूह भने केहि सुस्त देखिएको छ। लगानीकर्ताले हाइड्रोपावर भन्दा अन्य सेक्टरमा लगानी बढाउन थालेको देखिन्छ।
यस दिन विन लघुवित्त र जाल्पा लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने महुली लघुवित्तको ८.७२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ८.७१ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको ७.९४ प्रतिशतले बढेको छ। उच्च दरमा बढ्ने कम्पनीहरुमा धेरै लघुवित्त कम्पनीहरु छन्।
यता चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.०६ प्रतिशतले घटेको छ भने पिपुल्स पावरको ६.९५ प्रतिशत, जोशी हाइड्रोपावरको ५.७९ प्रतिशत र मध्ये भोटेकोशीको ३.३४ प्रतिशतले घटेको छ। उच्च दरमा घट्ने कम्पनीहरुमा धेरै हाइड्रोपावर कम्पनी परेका छन्।
आइतबार शिवम् सिमेन्टको सबैभन्दा धेरै २२ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सोनापुर मिनिरल्सको १८ करोड १३ लाख, जोशी हाइड्रोपावरको ७ करोड ९० लाख र हाथवे इन्भेष्टमेन्टको ७ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
पछिल्लो समय घट्दो अवस्थामा रहेको बजार सरकार परिवर्तसँगै सकारात्मक देखिन थालेको हो। अर्थमन्त्री वर्षमान पुन आएसँगै शेयर बजार बढ्दो गतिमा देखिएको छ। उनले शेयर बजारप्रति राखेका सकारात्मक धारणले गर्दा पनि शेयर बजारका लगानीकर्ताको मनोबल बढेको देखिन्छ ।