काठमाडौँ । बिहीबार नेप्से परिसूचक १३.५१ अंक बढेर २०३०.५५ विन्दुमा पुगेको छ ।
त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंक बढेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा ३०९ स्टकको ४७ हजार ६९९ पटकको कारोबारमा ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन एक कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर १० प्रतिशत बढेर कारोबार भएको हो। त्यस्तै, चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य सर्वाधिक ६.२१ प्रतिशत घटेको छ ।
१३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको हो ।