हेटौँडा । सातै प्रदेशका मुख्यमन्त्रीहरु हेटौडामा भेला भएका छन् । केन्द्र सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण नगरेको भन्दै दबाब दिन आज सातै प्रदेशका मुख्यमन्त्रीहरु बागमती प्रदेशको राजधानी हेटौँडामा भेला भएका हुन् ।
अधिकार प्राप्तिका लागि केन्द्र सरकारलाई दबाब दिन स्थानीय तहसमेत सातै प्रदेश सरकारले संयुक्त मोर्चा बनाएका छन् । भेलामा संघीयता कार्यान्वयनबारे स्थानीय तहका संगठन र प्रदेश सरकारबीच छलफल सुरु भएको छ ।
मुलुक संघीयतामा गएको ६ वर्ष बित्दा पनि संविधानमा उल्लिखित अधिकार प्रदेश सरकारले नपाएको र प्रभावकारी काम गर्न नसकेको प्रदेश सरकारहरुको गुनासो छ ।
गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तरप्रदेश बैठकले ६ महिनाभित्र संघले प्रदेशलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरिसक्नुपर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले अधिकार प्रत्यायोजन गर्ने तरखर समेत नगरेपछि मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका हुन् ।
मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीको मात्र होइन, प्रमुख दलको पनि संघीयता कार्यान्वयन र अधिकार प्रत्यायोजनबारे प्रतिवद्धता अउनुपर्ने बताएका छन् ।