काठमाडौं । सूर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेल इजलासले शुक्रबार मुद्दाको अन्तिम किनारा नलागेसम्म महानगरको निर्णय कार्यान्यवन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि लागू हुनेगरी आफ्नो कार्यक्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको थियो। महानगरले सार्वजनिक स्थलमा ध्रम्रपान निषेधसमेत गरेको थियो। त्यसविरुद्ध श्रीराम टोवागो उद्योगले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।
‘निवेदकहरूले रितपूर्वक उद्योग व्यवसाय सञ्चालन गरी कर तथा राजश्वसमेत नियमित तिर्दै बुझाउँदै आएको अवस्थामा काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ एवं काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन, २०५० को दफा ४२ लाई आधार मानी निवेदकहरूको बिक्री वितरण समेतमा पूर्ण प्रतिबन्ध लगाइएको छ भन्ने सूचनाले निवेदकहरुले कानुनबमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति पुग्नसक्ने अवस्था देखिएको हुँदा यसमा सुविधा सन्तुलन निवेदकहरूको पक्षमा विचारणीय देखिँदा काठमाडौं महानगरको २०८०/०८/१२ मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न नगराउनु भनि विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरदिएको छ,’ आदेशमा भनिएको छ।




















