जाजरकोट । जाजरकोटमा भूकम्पले घर भत्काएपछि त्रिपालमुनि बस्ने गरेकी एक सुत्केरीको चिसोले मृत्यु भएको छ ।
जिल्लाको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको मृत्यु भएको हो । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ ।
स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए ।
नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।’ चदाराले छोरीको जन्म दिएकी थिइन् ।
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भयो भने तीन सय ४६ घाइते भएका थिए ।
भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।
जारकोटमा चिसोले मृत्यु हुनेको संख्या यसअघि नै १४ पुगिसकेको छ ।