काठमाडौं । पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा छठ पर्वको रौनक बढ्दै गएको छ । ललितपुरको कुपण्डोलस्थित बागमती किनारमा पूजाअर्जना गरी भव्यरूपमा छठ पर्व मनाइएको छ । नदी किनारमा छठ पूजाका लागि झिलीमिली बत्ती सजावट गरिएको छ ।

पूजाका लागि राखिएको छठीमाताको मूर्तिमा तीर्थालुका साथै विभिन्न विशिष्ट व्यक्तिले समेत पूजाअर्चना गरेका छन् ।

छठीमाताको दर्शन तथा पूजाअर्चना गरेको छठ पूजा समिति कुपण्डोलका संयोजक सतिशकुमार झाले जानकारी दिए । कुपण्डोल पुलबाट पश्चिमतर्फका बागमती नदी किनारमा छठ पूजा गर्दै आइएको सो समितिले जनाएको छ । पूजास्थलमा तीर्थालुको घुइँचो थियो ।


तराई-मधेसमा मात्र नभई मुलुकका सबै भू-भागमा छठपर्व मान्ने चलन विस्तार भइरहेको छ । छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिन्छ। राजधानीका अन्य स्थानमा पनि छठ पूजा गरिएको छ।
गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौंको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी, हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ ।




















