काठमाडौं । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ । तीन दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाउन लागिएको हो । छठ पर्वको मुख्य दिन भएकाले सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ । मिथिला क्षेत्रमा विशेष हर्षोल्लासपूर्वक मनाइने यो पर्वको रौनक पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा पनि विशेष हुने गरेको छ । कुनै समय तराईमा मनाइने यो पर्व समयसँगै पहाडतिर उक्लिन थालेको छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा-आराधना गरी अघ्र्य दिइँदै छ । सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुन्छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट् राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गर्नुभएको थियो । फलस्वरूप उहाँले अटल सौभाग्य र पतिप्रेम प्राप्त गर्नुभयो । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा-झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रहेको छ । छठ पर्वको अवधिमा कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एकछाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एकछाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिई रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा-आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुन्छ । छठ पर्वका पूर्व तराईका नदी, पोखरी विशेष रूपमा सजाइएको छ भने काठमाडौंको गुहृयेश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा बागमती, नक्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।