काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्च अदालतमा आधादर्जन बढि रिट निवेदन दर्ता भएका छन् ।
टिकटक बन्द गर्ने निर्णय नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।
दर्ता भएका रिट निवेदनहरुमाथि आगामी सोमबारबाट सुनुवाई हुने बरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिएका छन् । त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने माग गरेको जानकारी दिएका छन् ।
संविधनमा हरेक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको अधिकार सुनिश्चितता गरिएको भन्दै सरकारको निर्णय बदर गर्नुपर्ने उनले बताएका छन् ।
उनले बिज्ञहरुको टाक्सफोर्स बनाएर सामाजिक सञ्जालमा भइरहेको दूरुपयोग गर्न सरकारले पहल लिनुपर्ने जिकिर गरेका छन् ।
त्यस्तै अधिवक्ता स्वागत नेपालले टिकटक बन्द गर्ने निर्णय आधारहिन भएकाले यसलाई बदर गर्नुपर्ने मागसहित रिट निवेदन दर्ता गरिएको बताएका छन् । अभिव्यक्ति स्वतन्त्रताको विपरित सञ्चारमाध्यमलाई प्रतिवन्द गराउनु जायज नभएको उनको भनाइ छ ।
टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव खल्वलिएको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटक बन्द गरेपछि अधिकांस नेतादेखि वुद्धिजीवी र सर्वसाधारणहरुले सरकारको चर्को रुपमा आलोना गर्दै आएका छन् । टिकटकमा देखिएका विकृति विसंगति नियन्त्रण गरेर सञ्चालन गर्न दिनुपर्ने आम माग छ ।