काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा विसंगति, विकृति र अराजकता फैलाएकाले नेपालमा टिकटक बन्द गरिएको दाबी गरेका छन् ।
मंगलबार बिहान ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृतिलाई के गरी नियन्त्रण गर्ने भन्ने छलफलपश्चात टिकटक बन्द गर्ने निर्णय भएको जानकारी गराए ।
प्रचण्डले देशभित्रका सत्ता पक्ष र प्रतिपक्ष, सबै राजनीतिक दलसँगको लामो बहसको सहमतिपश्चात बन्द गर्ने निर्णय भएको समेत दाबी गरे । उनले विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने अध्ययन गरेर यस्तो निर्णय गरिएको जानकारी दिए।
उनले थुप्रै अप्ठ्यारोका बीचमा सरकारले सामाजिक न्यायको पक्षमा काम गरिरहेको दाबी गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक नखुल्ने बनाउने निर्णय गरेको थियो । सो विषयलाई लिएर पक्ष/विपक्षमा बहस भइरहेको छ ।




















