
काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन नेपालसँग आग्रह गरेका छन् ।
मंगलबार संघीय संसदको संयुक्त दुवै सदनको बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन आग्रह गरेका हुन् ।
नेपालको शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्रसङ्घका तर्फबाट सम्मान व्यक्त गर्दै उनले नेपाल शान्ति प्रक्रियाको अन्तिम चरणको तयारी रहेको र सङ्क्रमणकालीन न्यायको माध्यमबाट शान्ति प्रक्रिया टुंग्याउन लागेको बताएका छन् ।
महासचिव गुटेरेसले दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग नेपाल आफैंले बनाएको बताएका छन् ।
विगत २० वर्षको नेपालको यात्रा हेर्नलायक र अद्भूत रहेको बताउँदै गुटेरेस भने, ‘नयाँ संविधानसहितको नयाँ गणतन्त्रको केन्द्रमा संयुक्त राष्ट्रसंघको बडापत्र छ । तपाईंहरूले दिगो विकास लक्ष्यहरू शीघ्र अँगाल्नुभयो र तीमध्ये धेरैमा प्रगति गर्दै हुनुहुन्छ । तपाईंहरुको मुलुकले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको छ र युद्धबाट शान्तितर्फ उन्मुख भएको छ । यो यस्तो प्रक्रिया हो, जसलाई संयुक्त राष्ट्रसंघले समर्थन गर्न पाउँदा गर्व लागेको छ ।’
महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रुपमा आर्थिक र सामाजिक सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।
कार्वन उत्सर्जनमा नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असर खेपिरहेकाले नेपालसमेतले यसको क्षतिपूर्ति स्वरुप विकसित मुलुकबाट जलवायु अनुकूललगायत क्षेत्रमा सहयोग पाउनुपर्ने उनको भनाइ छ । गुटेरेसले नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनका लागि गर्दै आएको योगदान अविस्मरणीय रहेको भन्दै शान्ति मिसनका क्रममा मारिएका नेपाली सुरक्षाकर्मीको सम्मानमा मौनधारणा समेत गरे । महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताए ।
महासचिव गुटेरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा नेपालले चाल्ने कदमको सहजीकरणका लागि राष्ट्रसंघले भूमिका खेल्ने धारणा राखे । संयुक्त राष्ट्रसंघ र नेपालबीच रहेको लामो समयदेखिको सम्बन्ध थप प्रगाढका साथ अघि बढ्ने उनले बताए । उनलाई संसद भवनमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायतले स्वागत गरेका थिए । यही कात्तिक १२ गते चार दिने नेपाल भ्रमणमा आएका महासचिव गुटेरेस बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।

























