काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैं आजदेखि सुरू भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।
बडा दसैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । काठमाडौंमा हनुमानढोकास्थित दसैंघरमा विधिपूर्वक पूजापाठ गरी जमरा राखिएको छ।
बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिएको हो। घटस्थापनाका क्रममा नेपाली सेनाको टुकडीले बन्दुक पड्काएर हर्ष बढाइँ गरेको थियो ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ। यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ। आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।





















