काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद पाएका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिले आममाफी दिएकोविरुद्ध परेको रिटमा आज सुनुवाइ हुन सकेन ।
पूर्ण इजलासमा रहेका प्रधानन्यायाधीश श्रेष्ठसहित तीनैजनाले आफूरहितको पूर्ण इजलासमा पठाउन आदेश दिएपछि सुनुवाइ नभएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।
उनका अनुसार अर्को पेशी कार्त्तिक १४ गतेलाई तोकिएको छ । अब यो रिटमाथि अर्को न्यायाधीशको पूर्ण इजलासमा अन्तिम सुनुवाइ हुनेछ।
बिहीबार बिहान सर्वोच्च अदालतको पूर्ण इजलासमा रिटको सुनुवाइ सुरू भएको थियो। पूर्ण इजलासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मी रहेका छन्।
प्रधानन्यायाधीश श्रेष्ठले आफूसहित तीनैजना न्यायाधीशले यस्तै प्रकृतिको मुद्दामा यसअघि फैसला गरिसकेकाले सो रिट अर्को इजलासमा पठाउन आदेश दिएपछि रिटमाथि अन्तिम सुनुवाइ नभएको हो ।
संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगञ्जका चेतन अधिकारीका हत्यारा रिगललाई आममाफी दिनुभएको थियो। राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिगललाई फेरि कारागार पठाउन माग गर्दै सर्वोच्चमा रिट दिएकी थिइन्।




















