काठमाडौं । नेपाल सरकारले इजरायलमा रहेका नेपालीको उद्धार गर्न नेपाल एयरलाइन्सको जहाज पठाउने भएको छ ।
नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले इजरायलमा जहाज पठाउने तयारी भइरहेको बताए ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलबाट नेपालीको उद्धार गर्न नेपाल एयरलाइन्सको जहाज आज राती ११ बजे उड्ने छ । मन्त्रालयका अनुसार दुबई हुँदै जहाज इजरायल जान लागेको हो।
चार्टर फ्लाइटका लागि रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ भएको परराष्ट्र मन्त्रालयको भनाई छ । विद्रोही समूह हमासको आक्रमणपछि इजरायलमा रहेकाहरूले जतिसक्दो चाँडो उद्धार गरिदिन आग्रह गरिरहेका छन्। तर, जहाज तयारी अवस्थामा राखिए पनि हवाई रुट नपाइएका कारण जहाज पठाउन ढिलाइ भइरहेको बताउँदै आएको छ।
परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनलाई मंगलबार टेलिफोन गरेर इजरायलमा रहेका नेपालीलाई फर्काउन र मृतकको शव ल्याउने प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरेका थिए । जवाफमा इजरायली विदेशमन्त्री कोहेनले मृतक नेपाली नागरिकको शव नेपाल पठाउन, इजरायलमा रहेका नेपालीको सुरक्षा गर्न र घर फर्किन चाहनेका लागि आफ्नो सरकारले उच्चतम् सहयोग गर्ने आश्वासन दिए ।
हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ । बाँकी विद्यार्थी र नेपालीहरूले सरकारको उपस्थिति खोजिरहेका छन् ।




















