काठमाडौं । सरकारले इजरायलको द्वन्द्वमा परेर मृत्यु भएका नेपालीको शव र घाइतेको उद्धार गर्न जहाज तयारी अवस्थामा राख्ने भएको छ। सोमबार बिहान परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा बसेको समन्वय संयन्त्रको बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको हो ।
बैठकले इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय गरेको छ। इजरायलमा ४ हजार ५ सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र २६५ जना विद्यार्थी अध्ययनरत रहेको परराष्ट्रमन्त्री साउदले संसदलाई जानकारी दिएका थिए।
प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलविरुद्ध गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् ।
इजरायली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायणप्रसाद न्यौपाने, बाउनिया ३ कैलालीका आशिष चौधरी, जयपृथ्वी ६ बझाङका गणेशकुमार नेपाली, लेकाम ५ दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, सपही ६ धनुषाका आनन्द शाह, मधुवन १ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली डोटीका राजन फुलारा, लामिखाल ८ डोटीका पदम थापा पदम थापा र सारदा ३ सल्यानका प्रवेश भण्डारी रहेका छन्।
राजदूतावासका अनुसार ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरूमध्ये सल्यानका प्रमोद केसी र कैलालीका वीरेन्द्र चौधरी सकुलस छन्। विद्रोहीको आक्रमणबाट चारजना घाइतेमध्ये सल्यानका विधान सेजवा र दाङका प्रविन डाँगीलाई खुट्टामा चोट लागेको छ भने कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल अस्पतालमा सकुशल छन् । कञ्चनपुरका बिपिन जोसी भने सम्पर्कविहीन रहेको रिजालले बताइन्।




















