काठमाडौं । इजरायलमा जारी द्वन्द्व र द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक मन्त्रालयमा बसिरहेको छ।
सरकारले आइतबार परराष्ट्रमन्त्रीको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो। संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्न आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरु गर्ने भनिएको छ।
प्यालेस्टाइनी विद्रोही समूह हमासको रकेट आक्रमणमा परी इजरायलमा अध्ययनरत १० नेपाली विद्यार्थीको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । एकजना बेपत्ता छन् । अझै पनि धेरै नेपाली बंकरमा लुक्न बाध्य छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा हाल ४५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको सिक्ने र आर्जन गर्ने कार्यक्रम अन्र्तगत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । यी मध्ये सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका थिए ।
नेपाली राजदूतावास प्राप्त अपडेट अनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समुहबाट गम्भिर आक्रमण भएकोले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल रहेको, ४ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भैरहेको छ । १० जनाको मृत्यु भएको र एक जनाको अवस्था अज्ञान रहेको मन्त्रालयले जनाएको ।
इजरायलमा भएको दुखद घटनालाई गम्भीरताकासाथ लिएर हिजो विहान प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसी परराष्ट्र मन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरु सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको थियो ।
संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूूल्यांकन गरेर नेपालीहरुको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नको लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।
इजरायलमा रहेका नेपालीहरुको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरुलाई सुरक्षित तवरले रहने प्रवन्ध गर्न, उद्धार तथा सहयोग गर्नको लागि इजरायल सरकारसंग आवश्यक समन्वय र सहजीकरणको कार्य भैरहेको छ । नेपाल सरकार इजरायलमा रहेका नेपालीहरुलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नको लागि पूर्ण प्रतिवद्ध रहेको मन्त्रालयले जनाएको छ ।



















