काठमाडौं । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा १९ जेठमा दुव्र्यवहार गरेको भन्दै एक जना महिला सहायक हवल्दारले उजुरी दिएकी थिइन् । उनको उजुरी पछि छानबिनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनेको थियो ।
समितिले एसएसपी पाललाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेलगत्तै पालको राजीनामा दिएका हुन । पाललाई यसअघि नै गृह मन्त्रालयले निलम्बन गरेको थियो ।
बिदामा जान लागेकी महिला कर्मचारीलाई दुर्व्यवहार गरेको छानबिन समितिले ठहर गरेपनि फौजदारी कसूरमा भने पालविरुद्ध अनुसन्धान भएको छैन ।
छानबिन समितिका सदस्यका अनुसार, बिदामा जान लागेकी कर्मचारीलाई एसएसपी पालले ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँग बस्न भनेका थिए ।
शनिबार बुझाएको उनको राजीनामा स्वीकृतिका लागि गृहमन्त्रालयमा पठाइएको प्रहरी केन्द्रीय प्रवक्ता कुबेर कडायतले बताएका छन् ।