सुर्खेत । नेकपा एमाले कर्णालीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । शनिबार साँझ ६ बजेबाटै मतदान प्रक्रिया सुरू गर्ने भनिए पनि तयारी नपुगेको भन्दै आज बिहानलाई सारिएको थियो ।
प्रदेश अध्यक्षका लागि तीनजना, उपाध्यक्षका लागि तीन, सचिवमा दुई, उपसचिवका लागि तीनजनाबीच प्रतिस्पर्धा हुने हुँदैछ । अध्यक्ष पदका लागि उम्मेदवारी दिएका राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएपछि कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटकै मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो ।
गुलाबजङ्गलाई यामलाल कंडेलले सघाएका छन् भने मीनबहादुरलाई गोरख बोगटी र विनोदकुमार शाहको साथ रहेका कारण गुलाबजंग र मीनबहादुरबीच मुख्य प्रतिस्पर्धा हुने नेताहरुले बताएका छन् । उनीहरुले पदाधिकारीमा प्यानल नै बनाएका छन् ।
त्यस्तै उपाध्यक्षमा टेकराज पछाई, दानसिंह परियार र लालबहादुर महताराबीच प्रतिस्पर्धा हुँदैछ भने सचिवमा ध्रुवकुमार शाही र रुद्रबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । पछाई गुलाबजङ्ग प्यानलबाट हुन् भने लालबहादुर महतरा र दानसिंह परियार मीनबहादुरतर्फबाट हुन् । सचिवमा दैलेखका रुद्रबहादुर शाही गुलाजङ्ग प्यानलबाट र सुर्खेतका ध्रुवकुमार शाही मीनबहादुरको प्यानलका हुन् ।