काठमाडौँ । काठमाडौं आउँदै गरेको शिक्षक बोकेको बस सिन्धुलीमा दुर्घटना हुँदा १० जना शिक्षक घाइते भएका छन् । राहत शिक्षकको काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन आउँदै गरेका शिक्षक चढेको गाडी शुक्रबार बिहान बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा दुर्घटना हुँदा घाइते भएका ९ शिक्षकमध्ये केहीको अवस्था रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार शिक्षकहरु सवार मधेश प्रदेश ०४(००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान शुक्रबार बिहान करिब ८ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनाबाट घाइते भएकामध्ये कमलामाई नगरपालिका– १ घर भएका ३४ वर्षीय मुकुन्द थापाको अवस्था गम्भीर छ । उनको टाउकोमा गहिरो चोट लागेको बताइएकोछ ।
दुर्घटनामा कमलामाई– ६ घर भएका शिक्षक ४६ वर्षीय निरकुमार चालिसेका दुबै हात भाँचिएका छन् भने शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका– १० की गर्भवती ४० वर्षीया गार्की बस्नेत पनि पनि घाइते भएकी छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सिन्धुलीकै तीनपाटन गाउँपालिका– १० का ४० वर्षीय राजन कार्कीको दाहिने हात र बायाँ खुट्टा दुर्घटनामा भाँचिएको छ ।
दुर्घटनामा सिन्धुलीको कमलामाई– ५ कि ४६ वर्षीया कमला घिमिरे, कमलामाई– १ का ४१ वर्षीय भुवन थापा, कमलामाई– ४ कि ४० वर्षीया बबिता देवकोटा, कमलामाई– ६ का ६४ वर्षीय विष्णु ढकाल, उनका छोरा ११ वर्षीय निश्चल ढकाल र सोही ठाउँका ४० वर्षीय सरोज थापा घाइते भएको प्रहरीले जनाएको छ ।
भ्यानमा चालकसहित ११ जना सवार थिए । उनीहरु मध्ये ९ जना शिक्षक हुन् ।
बोहोरेटारको साँघुरो टर्निङमा भ्यान सडकबाट तल खसेर दुर्घटनामा परेको हो । घाइतेलाई धुलिखेलतर्फ लगिएको छ ।
दुर्घटनापछि भ्यान चालक सिन्धुलीको कमलामाई नगरपालिका– ८ का २६ वर्षीय तेजबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।



















