काठमाडौं । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै दमन गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गर्दै दमन गरेको हो ।

निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहारसमेत गरेको हो ।

शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन् ।

उनीहरुले हरेक दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्दै आएका छन् । बुधबार शिक्षकहरुले माइतीघर नयाँ बानेश्वर सडकको मुख्य लेनबाटै प्रदर्शन गरेका कारण सो सडक भएर चल्ने गाडीहरु बन्द भएका थिए ।

शिक्षकको आन्दोलनका कारण नयाँ बानेश्वर र माइतीघर, थापाथली क्षेत्रमा जाम बढेको छ ।




















