काठमाडौं । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै काठमाडौंमा आन्दोलनरत शिक्षकसँग नेपाली कांग्रेसले छलफल गर्ने भएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको नेतृत्वमा कांग्रेसले शिक्षक प्रतिनिधिहरूसँग दिउँसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा छलफल गर्न लागेको हो ।
छलफलका लागि नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, राहत शिक्षक समितिका अध्यक्ष खेमराज अधिकारी, बाल विकास शिक्षक समितिकी अध्यक्ष कृष्णकुमारी मगर, नगरपालिका महासंघका अध्यक्ष भीम ढुंगानालगायत विभिन्न संघसंगठनका प्रतिनिधिलाई बोलाइएको बताइएको छ ।
आन्दोलित शिक्षक र सरकारबीच असोज ५ गते ६ बुँदे सहमति भए पनि राहतलगायत शिक्षकहरूले भने असन्तुष्टि जनाउँदै आन्दोलन जारी राखेका छन् ।