काठमाडौँ । आज हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदै छ । शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लागेको छ ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा तिर्थालु, एवं व्रतालु महिलाहरुको भीड लागेको छ ।
अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको राम्रो होस् भन्ने मनशायसहित व्रत बस्ने चलन छ । निराहार व्रत बसे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।