काठमाडौं । बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामाथि थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा थुनछेक बहस सकिएको हो।
प्रतिवादीका तर्फबाट बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गरेका थिए। दुवै तर्फका कानुन व्यवसायीको बहस सकिएकाले आजै थुनछेक आदेश आउने जिल्ला अदालत काठमाडौंले जनाएको छ । जिल्ला अदालतले पक्राउ परेकाहरूलाई थुनामा राख्ने कि धरौटीमा छोड्ने भन्ने आदेश जारी गर्नेछ ।
थुनामा रहेका १८ जनाको बयान सकिएसँगै गत भदौ १७ गतेदेखि थुनछेक बहस सुरू भएको हो। ललिता निवास जग्गा प्रकरणमा ३१२ जना प्रतिवादीविरुद्ध मुद्दा दायर भएको छ। उनीहरूमाथि सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा मुद्दा चलाइएको छ। भदौ ११ बाट थुनामा रहेका प्रतिवादीहरूको बयान सुरू भएको थियो ।
समरजंग कम्पनीका कार्यालय प्रमुख मुकुन्द प्रसाद पन्तको जाहेरी सूचनाका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो । ललिता निवास प्रकरणमा ५७ दिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सीआईबीले भदौ ५ गते सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो।
त्यसपछि प्रतिवेदनमाथि अध्ययन गरेर सरकारी वकिलको कार्यालयले भदौ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। सो प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलगायत पूर्वमन्त्रीसँग सोधपुछपछि सीआईबीले अनुसन्धानलाई अन्तिमरुप दिएको थियो।
ललिता निवास प्रकरणमा प्रहरीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत,भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारीसहित १८ जना पक्राउ परेका छन्। उनीहरूविरुद्ध मुलुकी ऐन,२०२० को किर्तेसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो।




















