काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोधमा तरुण दल आन्दोलित बनेको छ ।
नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले शुक्रबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनकारीहरूले ज्ञानेन्द्रको मतियार गृहमन्त्री राजीनामा दे,तस्करको नायिके गृहमन्त्री राजीनामा दे, शान्ति सुरक्षा कायम गरलगायतका नारा लगाएका थिए ।
तरुण दलका अध्यक्ष समेत रहेका यादवलाई रिपोर्ट्स क्लबको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा खुकुरी प्रहार भएको थियो। यादवको टाउको र गर्दनमा चोट लागेको छ। उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबहादुर सापकोटालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।




















