काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग सिआईबीले बयान लिएको छ ।
६० किलो सुन प्रकरणमा ‘कनेक्सन’ देखिएपछि सिआईबीले पुनसँग बयान लिएको हो। अनुसन्धानमा खटिएको प्रहरी टोलीले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुनको कनेक्सन देखिएको प्रमाण फेला परेको दाबी गरेको छ ।
दीपेशसँग सिआईबीको टोलीले करिब चार घण्टा बयान लिएको थियो। बयानका लागि दीपेश सिआईबी परिसर पुगेका थिए। सुन तस्करीमा उनले आफ्नो संलग्नताबारे इन्कारी बयान दिएको सिआईबी स्रोतले जानकारी दिएको छ ।
दीपेश माओवादी केन्द्रको भातृसंस्था अखिल क्रान्तिकारीका महासचिव हुन्। हङकङबाट काठमाडौं तस्करी भएको उक्त सुन प्रकरणमा सिआईबीले विभिन्न १०० जना व्यक्तिको नाम निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा ६ जना विदेशीसहित २६ जना प्रहरी नियन्त्रणमा छन् ।




















