काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताएका छन् ।
सोमवार पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०/३५ वर्षदेखि ४/५ जना नेतामात्रै सत्ता र नेतृत्वमा घुमिरहनु रहेको बताए ।
उनले संसदीय दलको नेता बदल्ने कुरा अहिलेको आवश्यकता भएकाले आफू अझै संसदीय दलको नेता फेर्न लागिपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवाले आफू ५ पटक प्रधानमन्त्री बनिसकेकाले अर्को नेता पार्टीको संसदीय दलको नेता बनोस् भनेर आह्वान गर्ने अपेक्षा राखेको पनि बताए । महामन्त्री थापाले आफूले पार्टी फुटाउने कुरा नगरेको भन्दै संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिन नपर्ने बताए ।
महामन्त्री थापाले वर्तमान सत्ता गठवन्धनको नेता काँग्रेस भएकाले आफ्ना शर्तहरुमाथि सम्झौता गर्नु नहुने बताए । उनले अबको ४ वर्षमा देशमा संघीयता चाहिन्छ भन्ने मनोभावना विकास गर्ने चुनौति रहेको उल्लेख गरे ।




















