काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली प्रस्थान गरेका छन्। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल त्यसतर्फ प्रस्थान गरेका हुन् ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदै छ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। खाद्य तथा कृषि संगठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसंघीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्नेछन् ।
भ्रमण दलमा उनको स्वकीय सचिव एवं छोरी गंगा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता छ । भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्किने कार्यक्रम छ ।




















