काठमाडौँ । नेपाली कांग्रेसले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने भएको छ। उक्त अभियानबाट ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कांग्रेसले कार्ययोजना अघि सारेको हो ।
मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरेका हुन् ।
उनले भने, ‘कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ।’ मंसिर–पुस २०७८ मा भएको १४ औं महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य थिए ।
थापाका अनुसार उनीहरुको सदस्यता साउनभित्र उपलब्ध गराइने छ भने भदौ, असोज र कात्तिकमा जिल्ला कमिटीहरुले नवीकरण गर्नेछन् । नयाँ सदस्यका लागि कांग्रेसले अनलाइन प्रणाली सुरु गरेको छ । यसलाई अझ प्रभावकारी बनाउने महामन्त्री थापाले बताए ।




















